काठमाण्डाँै । गोकर्णेश्वर नगरपालिका र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बिच मुटु रोग उपचारका लागि सम्झौता भएको छ ।
गोकर्णेश्वरबासीको मुटु रोग सम्बन्धी उपचारका लागि प्रतिव्यक्ति ५० हजार अस्पतालको नाममा सोध भर्ना गर्ने गरी नगरपालिकाका मेयर दीपक रिसाल र शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डाक्टर रवि मल्लले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता वैशाख १ गते देखी लागु भई २०८२ असार मसान्तसम्म कायम हुनेछ । सम्झौतामा भनिएको छ, विपन्न नागरिक औषधि उपचार सञ्चालन निर्देशिका २०८० (सङ्घ र प्रदेश) पाउने सुविधा र अस्पतालले उपलब्ध गराउने सुविधा सकिएपछि सम्झौता अनुसारको सर्त लागु हुनेछ ।’
सम्झौताको सेवा लिनका लागि गोकर्णेश्वर नगरपालिका क्षेत्र भित्र स्थायी रूपमा बसोबास गरिरहेका नागरिकता र भोट कार्ड भएका बासिन्दाहरू हुनुपर्ने छ भने स्वास्थ्य उपचारका लागि नगरपालिकाले तोकिएको प्रक्रिया अनुसार अस्पताललाई सिफारिस गर्ने छ ।
विपन्न नागरिकको उपचारका लागि शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रसँग सम्झौता गरिएको नगरपालिकाका मेयर दीपक कुमार रिसालले बताए । मुटुको उपचारका लागि केन्द्र सरकार, प्रदेश सरकार र स्वास्थ्य बिमा बापतको रकममा नगरको सहयोगले उपचारमा राहत महसुस गर्न सकिने मेयर रिसालको भनाई छ ।
मुटु रोगको उपचारका लागि केन्द्र सरकारले एक लाख प्रदान गर्ने छ भने स्वास्थ्य बिमा बापत एक लाख सम्मको उपचार गर्न सकिन्छ । त्यसमा नगरपालिकाको ५० हजार रुपैयाँ थप हुने छ ।
यस अघि भक्तपुर क्यान्सर अस्पतालमा ४ लाख सम्मको उपचार हुने गरी सम्झौता गरिएको छ ।

























