३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

चौथो महांकाल कप–२०८२ सुरु


११ बैशाख २०८२, बिहिबार  

92
Shares

काठमाडौँ । चौथो महांकाल कप–२०८२ सुरु भएको छ । काठमाडौँ महानगरपालिका ४ चण्डोल स्थित विशाल मिलन केन्द्रको बास्केटबल खेल मैदानमा सुरु प्रतियोगितामा ९ पुरुष टिम र ४ महिला टिम सहभागी बनेका छन् ।

२०७२ साल वैशाख १२ गतेको भुकम्प र त्यसको क्षतिलाई स्मरण गर्दै आयोजना गर्दै आएको महांकाल कपमा ह्विलचियर बास्केटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।

जय महांकाल युवा समूहका अध्यक्ष लिला नाथ भण्डारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राष्ट्रिय पाराओलम्पिक समिति नेपालका अध्यक्ष राधा घले प्रमुख अतिथी थिइन् । उनले ह्विलचियर बास्केटबल प्रतियोगिता सञ्चालन गरेर अपांगता भएका व्यक्तिको चाहनालाई प्रतिनिधित्व गरेकोमा खुसी व्यक्त गरिन् ।

विजेतालाई (महिला/पुरुष)लाई नगद २५ हजार, १५ हजार १० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । उत्कृष्ट खेलाडी र हाइ स्कोरर खेलाडीले दुई हजार र ट्रफी प्राप्त गर्नेछन् ।

शुक्रबार नायिका श्वेता खड्का, एलिजा गौतम, गायक दुर्गेश थापा, कलाकारहरू माया थामी, रिना थापा मगर, अस्मिता रानापाल, मुकेश नेपाली, शशिकला राई, अञ्जु सुनार, इन्दु थामी, कृष्ण मगर, सारा कार्की, मनु थामी, विमला थामी लगायतले प्रस्तुति दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

२०७६ सालमा स्थापना भएको जय महांकाल युवा समूहले अपाङ्गता भएका व्यक्तिहरूको जीवन उत्थान र सशक्तीकरणका लागि ह्विल चियर बास्केटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । यो वर्षदेखि महिला टिमलाई पनि बास्केटबलमा सहभागी गराइएको छ ।

जय महांकाल युवा समूह कोरोना कहरको समयमा दिन दुखीको सेवाको स्थापना भएको र निरन्तर ‘भोकालाई भोजन, प्यासीलाई पानी’ भन्ने नारा सहित अघि बढेको समूहले कोरोना कालदेखि गंगबु क्षेत्र र पशुपति क्षेत्रमा निःशुल्क खाना र पानी वितरण गर्दै आएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०८२, बिहिबार  ९ : १९ बजे