३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

नुम्बुर प्राविधिक शिक्षालयमा पठनपाठन सुरु


१८ बैशाख २०८२, बिहिबार  

4
Shares

सोलुखुम्बु । जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा निर्मित प्राविधिक शिक्षालय नुम्बुर भोकेसनल ट्रेनिङ सेन्टरमा पठनपाठन सुरु भएको छ ।

सोलु च्याम नामक फ्रान्सेली दातृ निकाय र सोलुदुधकुण्ड नगरपालिकाको लागत साझेदारीमा नगरपालिकाको वडा नम्बर ७ गार्मामा आवासीय सुविधा सहित ३ करोड ४० लाखको लागतमा निर्मित प्राविधिक शिक्षालयमा पठनपाठन सुरु भएको शिक्षालयका अध्यक्ष निमा शेर्पाले बताए ।

नगरपालिकाका युवाहरूलाई स्वरोजगारमुलक सिप सिकाई विदेश पलायनबाट रोक्ने उद्देश्यले निर्माण गरिएको सुविधा सम्पन्न प्राविधिक शिक्षालयमा निःशुल्क रूपमा पढाउन थालिएको नगर प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताए ।  प्लम्बिङ, कुक र हाउस वायरिङ सम्बन्धी ३ विधामा तत्काल १०–१० जना विद्यार्थीलाई पढाउन सुरु गरिएको छ ।

सिटिईभिटिबाट सम्बन्धन लिइएको ३ वटै कोर्ष २ बर्षे हुन् । एसइईको परीक्षा दिएका विद्यार्थीहरू आवासीय रूपमा उक्त कक्षामा सामेल भएका छन् । शिक्षालय सञ्चालनमा आएसँगै प्लम्बिङ, कुक र हाउस वायरिङ सीप सिक्नैका लागि काठमाडौँ लगायतमा सहर धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०८२, बिहिबार  १० : ४० बजे