३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

महाकुलुङ गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा



सोलुखुम्बु । जिल्लाको महाकुलुङ गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । 

बुधवार गाउँपालिकाका ५ वटै वडामा रहेका सम्पूर्ण लक्षित बालबालिकालाई खोप लगाइसकेपछि गाउँपालिकालाई बुधवार पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक हरि प्रसाद आचार्यले जानकारी दिए । 

यस वर्ष गाउँपालिकाभरि ६ सय २९ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएकोमा ५ सय ६७ जना बालबालिकालाई खोप लगाइएको छ । गाउँपालिका अध्यक्ष तथा पालिका खोप समन्वय समितिका संयोजक सूर्य बहादुर कुलुङको अध्यक्षता एवं जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यमा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।  

जिल्ला खोप समन्वय समितिका संयोजक तथा समन्वय समिति प्रमुख कृष्ण प्रसाद निरौलाले मेहनत र सक्रियताका साथ वडा हुँदै पालिकासम्म खोप लगाउन स्वास्थ्यकर्मीहरू लागी परेर यो प्रतिफल हात परेको भन्दै प्रशंसा गरे ।

कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कुलुङले गाउँपालिकामा स्वास्थ्य क्षेत्रलाई संवेदनशील क्षेत्र मानेर आफूहरूले काम गरिरहेको भन्दै खटिने सबैलाई धन्यवाद दिए।  

प्रकाशित मिति : २ जेष्ठ २०८२, बिहिबार  १० : १९ बजे