सोलुखुम्बु । सोलुखुम्बुको सल्लेरी स्थित जन जागृति माविमा आधारभूत तह (कक्षा १ ३) का शिक्षकहरूका लागि एक महिने प्रमाणीकरण तालिमको पहिलो खण्ड १५ दिने आमनेसामने तालिम आज बाट सुरु भएको छ ।
रीड नेपालको आयोजना, अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेसनको आर्थिक सहयोग तथा शिक्षा तालिम केन्द्र सुनसरी, शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बु र सोलुखुम्बु जिल्लाका स्थानीय तहहरू (सोलु दुधकुण्ड नगरपालिका, थुलुङ दुधकोशी, माप्य दुधकोशी, नेचासल्यान, सोताङ, महाकुलुङ र लिखुपिके गाउँपालिकाको समन्वयमा सुरु तालिमको शुभारम्भ रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरीको अध्यक्षता तथा सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टुक्ति शेर्पाको प्रमुख आतिथ्यतामा गरिएको हो ।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइका निमित्त प्रमुख बिर्मा डाँगी र जनजागृति माविका प्रधानाध्यापक जनक कुमार थापाको समेत उपस्थिति रहेको थियो ।
वक्ताहरूले रीड नेपालको कार्यक्रमको प्रशंसा गर्दै नेपाल सरकारले सञ्चालन गर्ने तालिम रीड नेपालले सम्बन्धित निकायसँग समन्वय गरेर जिल्लामा नै सञ्चालन गरेकोमा धन्यवाद दिए ।
तालिममा नगरपालिका तथा विभिन्न गाउँपालिकाका २०७९ अगावै प्रावि तह स्थायी भएका र अहिलेसम्म प्रमाणीकरण तालिम नलिएका ३९ जना शिक्षकहरूको सहभागिता रहेको छ ।
तालिम शैक्षिक जनशक्ति विकास परिषद्बाट स्वीकृत पाठ्यक्रमको आधारमा सञ्चालन गरिने आयोजकले जनाएको छ ।
तालिमको सहजीकरण सुनसरी तालिम केन्द्रका रोस्टर प्रशिक्षक तथा रीड नेपालका शिक्षा विकास संयोजक केशवदेव गिरी, र रीड नेपालका तालिम प्रशिक्षक वासु वाग्ले लगायतका रीड नेपालका विषय विज्ञहरूले गरिरहनु भएको छ ।
यस अगाडी पनि रीड नेपालले सोलुखुम्बुका शिक्षकको पेसागत विकासका लागि विभिन्न चरणमा प्रमाणीकरण तालिम सञ्चालन गरेर प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।
जिल्ला बाहिर गएर लिनु पर्ने तालिम आफ्नै जिल्लामा लिन पाउँदा सहभागी शिक्षकले खुसी व्यक्त गर्दै रीड नेपाललाई धन्यवाद दिएका छन् ।

























