३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

महाकुलुङका ९० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण



सोलुखुम्बु । महाकुलुङ गाउँपालिका–२ मा आर्थिक रूपले विपन्न, फरक क्षमता भएका, अनाथ लगायत ९० जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिएको छ।

पेल्माङ विकासका लागि सहयोगी हातहरू संस्थाको आयोजना र गोर्लिज–पेल्माङ EV जर्मनीको आर्थिक सहयोगमा प्रत्येक विद्यार्थीलाई ६ हजार रुपैयाँका दरले जम्मा ५ लाख ४० हजार रुपैयाँ छात्रवृत्ति हस्तान्तरण गरिएको हो।

शनिबार सम्पन्न कार्यक्रममा संस्थाका अध्यक्ष मछिन्द्र राईको अध्यक्षतामा वडा अध्यक्ष प्रदीप राई, वडा सदस्यहरू, स्थानीय समाजसेवी तथा अभिभावकहरूको उपस्थितिमा छात्रवृत्ति वितरण गरिएको थियो।

संस्थाले शिक्षा क्षेत्रको अभिवृद्धि मात्र नभई विभिन्न सामाजिक सेवामा समेत सक्रिय योगदान दिँदै आएको छ। यसअन्तर्गत हालसम्म ६ पटक स्वास्थ्य शिविर सञ्चालन, शिक्षक अनुदान, विद्यालयमा प्रोजेक्टर वितरण, स्वास्थ्य फर्निचर निर्माण, सिकिस्त बिरामीहरूको हेलिकप्टरमार्फत उद्धार, विपन्न परिवारलाई ४५ वटा जस्तापाता वितरणजस्ता कार्यहरू गरिसकेको छ।

संस्थाका अनुसार विद्यार्थीहरू पढाइप्रति थप उत्साहित र सक्रिय होऊन् भन्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको हो। संस्थाले आगामी दिनहरूमा पनि शिक्षा तथा विकासको क्षेत्रमा यस्ता सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, आइतबार  १० : ३२ बजे