सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका १० मा सञ्चालित वोङछु शेर्पा मेमोरियल अस्पताललाई किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले रिबन काट्दै अस्पताललाई औपचारिक रूपमा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरेका हुन् ।
मेयर शेर्पाले यो अस्पताल सोलुदुधकुण्ड नगरपालिकाको दोस्रो मुख्य स्वास्थ्य संस्था भएको उल्लेख गरे । नगरपालिका किशोर किशोरीको स्वास्थ्यलाई अत्यन्तै गम्भीर रुपमा लिनका साथै यो उमेर समुह भविष्यका कर्णधारलाई आत्मसाथ गर्दै, नगरपालिका संवेदनशील भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
वडा नम्बर १० का अध्यक्ष होम बहादुर मगरले अस्पतालको समुचित व्यवस्थापनका लागि सबै पक्षसँग सहकार्य गर्दै जानुपर्ने आवश्यकता औंल्याए।
अस्पतालले किशोर किशोरी मैत्री स्वास्थ्य संस्था बन्नका लागि गोपनीयता सुनिश्चितता, अनुकूल भौतिक पूर्वाधार, सेवा समय लचिलो हुनु पर्ने, सूचना तथा परामर्श सेवा दिने, सामाजिक रुपमा कमजोर, अपाङ्गता भएका वा टाढा क्षेत्रका किशोरकिशोरीहरूलाई सेवा लिन सहज हुने व्यवस्था र सामुदायिक सहभागिता लगायतको मापदण्डहरु पूरा गरेपछि यसलाई औपचारिक रुपमा किशोर किशोरी मैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो ।

























