३० जेष्ठ २०८३, शनिबार | Sun Jun 14 2026

रैथाने कृषि हाट बजारको सय हप्ता: रैथाने उत्पादन उपभोगमा आकर्षण बढ्दो, ३ करोड भन्दा बढीको कारोबार


२५ जेष्ठ २०८२, शनिबार  

126
Shares

काठमाडौँ ।  रैथाने एग्री प्रडक्ट नेपालले दरबारमार्गमा सञ्चालन गरिरहेको ‘रैथाने कृषि हाटबजार’को एक सयौँ हप्ता पुगेको अवसरमा विशेष कार्यक्रमको आयोजना गरिएको छ ।

१५ सय बढी उपभोक्ताले हाट बजार भिजिट गर्नुका साथै विशेष छुटमा रैथाने सामग्री किनबेच गरेका छन् । दर्जनौँ उद्यमीहरूको उत्पादनलाई बिक्री गर्ने थलोको रूपमा विकसित रैथाने हाट बजारले एक सय हप्ता अवधिमा ३ करोड भन्दा बढीको कारोबार गरेको अनुमान गरिएको छ ।

शनिवार आयोजित अन्तरक्रिया कार्यक्रममा कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले नेपाली परम्परागत बाली र विषादीरहित उत्पादनका लागि सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत थप कार्यक्रम अगाडि बढाएको बताएका छन् । उनले सरकार रैथाने बाली संरक्षण र परम्परागत कृषि सीप संरक्षणमा क्रियाशील रहेको बताए ।

मन्त्री अधिकारीले पछिल्लो समय स्थानीय उत्पादन, परम्परागत बाली र त्यसको उपभोगका विषयमा जागरण आइरहेको उल्लेख गर्दै अब अत्यावश्यक खाद्यवस्तुको आयात प्रतिस्थापन गर्ने गरी व्यावसायिक विकासमा केन्द्रित हुनुपर्ने बताए । मन्त्री अधिकारीले आयात, परनिर्भरता र आर्थिक स्रोतको अभाव पूर्ति गर्न गाँजालगायत जडीबुटीजन्य नेपाली उत्पादनमा जोड दिनुपर्ने बेला आएको धारणा समेत राखे । 

पूर्व मन्त्री शेरबहादुर तामाङले अब कुरा मात्रै नभई काम गर्नुपर्ने बेला आएको उल्लेख गर्दै सरकारले स्थानीय परम्परागत बालीको संरक्षणका लागि देखिने गरी काम गर्नुपर्ने धारणा राखे । उनले सरकारले नीतिगत सहजीकरण गर्ने र किसानले जिम्मेवारीपूर्वक काम गरे बेरोजगारीको समस्या समाधानमा ठुलो टेवा पुग्ने धारणा राखे ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सहसचिव डा. रामकृष्ण श्रेष्ठले आफ्ना परम्परागत उत्पादन उपभोग गर्ने बानी विकास भएमा उत्पादन र व्यावसायिक विकासमा टेवा पुग्ने धारणा राखे । नेपाल सरकारले बाली विकास, स्थानीय जात र प्रविधि संरक्षणमा काम गर्दै आएको र यसका लागि आर्थिक वर्ष २०७७, ०७८ देखि देशभर करिब ३०० पालिकालाई सशर्त अनुदानमा बजेट तथा कार्यक्रम व्यवस्थापन गर्दै आएको बताए ।

रैथाने एग्री प्रडक्ट नेपालका अध्यक्ष तिलक ढकालले रैथाने बाली, परम्परागत सीप र ज्ञानको संरक्षण, प्रवर्धन र बजारीकरणका लागि उत्पादक किसान एवं उद्यमीहरूले विसं २०८० साउन १ गतेदेखि अभियान सुरु भएको बताए । रैथाने कृषि हाटबजार अभियानले एक सय हप्ता पूरा गरेको र यस अवधिमा प्रत्येक हप्ता औसतमा ३५ स्टलबाट ३०० देखि ४०० ग्राहक जोडिने गरेको जानकारी दिँदै हालसम्म करिब तीन करोडको कारोबार भएका अनुमान सुनाए ।

कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बुका अध्यक्ष असीम राई, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, विश्व वन्यजन्तु कोष (डब्लुडब्लु एफ)का नेपाल प्रतिनिधि डा. घनश्याम गुरुङ, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, ओरियन्ट क्याफे दरबारमार्गमा सञ्चालक पशुपति पाण्डे, महिला उद्यमी जोत्सना केसीलगायतले रैथाने बालीको महत्त्व र संरक्षणका बारेमा विचार राखेका थिए । उनीहरूले स्थानीय जातको बिउ र बाली मासिनु भनेको नेपाली संस्कृतिमाथिको अतिक्रमण भएको भन्दै संरक्षणमा लाग्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा थुलुङ दुधकोशी गाउँपालिका सोलुखुम्बुका अध्यक्ष असीम राई, खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ, उत्तर गया गाउँपालिका अध्यक्ष माधव प्रसाद अर्याल, मकवानपुर गढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतान, भोटखोला गाउँपालिका अध्यक्ष वाङ छेदर लामा, नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहाल, ओरियन्ट क्याफे दरबारमार्गमा सञ्चालक लगायतलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, शनिबार  २ : ५३ बजे