२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

थुलुङ दुधकोशीमा पोस्टमार्टम गृह उद्घाटन, जिल्ला अस्पताल धाउनुपर्ने बाध्यताको अन्त्य



सोलुखुम्बु। सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लिमा पोस्टमार्टम गृह  उद्घाटन गरिएको छ । 

थुलुङ दुधकोशी अस्पताल परिसरमा निर्माण गरिएको पोस्टमार्टम गृह को सोमबार गाउँपालिका अध्यक्ष असीम राईले  उद्घाटन गरे ।

गाउँपालिकाको ११ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको पोस्टमार्टम गृहले अब मृतकको कानुनी परीक्षणका लागि जिल्ला अस्पताल फाप्लुसम्म शव बोक्नुपर्ने बाध्यताको अन्त्य  हुनेछ ।

गाउँपालिका अध्यक्ष असीम राईले पोस्टमार्टम गृह एउटा भवन मात्र नभई ग्रामीण न्यायको नयाँ आधार भएको बताए । उनले थुलुङ दुधकोशी गाउँपालिकाका सर्वसाधारण जिल्ला अस्पताल जान नपर्ने बताएका छन् ।

पोस्टमार्टम गृह सञ्चालनका लागि आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन सबै कार्य पूरा भएको बताइएको छ। स्थानीय तह, स्वास्थ्य कार्यालय र प्रहरी प्रशासनको सहकार्यमा अब नियमित रूपमा पोस्टमार्टम सेवा सञ्चालन गरिनेछ।

प्रकाशित मिति : २ असार २०८२, सोमबार  ७ : २२ बजे