सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीमा आयोजित आधारभूत तह वडास्तरिय हाजिरी जवाफ प्रतियोगितामा त्रिभुवन विद्योदय आवि प्रथम भएको छ ।
वडाका ६ विद्यालय सहभागी आधारभूत तह (कक्षा एक देखि ५)को हाजिरी जवाफ प्रतियोगितामा प्रथम भएको त्रिभुवन विद्योदय आवि नै कक्षा ६ देखि ८सम्मको विद्यार्थी बिच सम्पन्न प्रतियोगितामा पनि त्रिभुवन विद्योदय आविको समूह क प्रथम भएको छ ।
सात विद्यार्थीको समूह सहभागी कक्षा १ देखि ५ सम्मको हाजिरी जवाफ प्रतियोगितामा पञ्चकन्या आवि द्वितीय भएको छ भने बिरेन्द्रोदय मावि तृतीय भएको छ । त्यस्तै, ८ समूह सहभागी कक्षा ६ देखि ८ सम्मको हाजिरी जवाफ प्रतियोगितामा बिरेन्द्रोदय मावि द्वितीय र त्रिभुवन विद्योदय आवि समूह ख तृतीय बनेको वडा सचिव युवराज राईले जानकारी दिए ।
विजेता विद्यार्थी समूहलाई क्रमशः ५ हजार ४ हजार र ३ हजार, प्रमाणपत्र र शैक्षिक सामग्रीहरू प्रदान गरिएको छ भने सहभागी विद्यालयलाई एक हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको वडा अध्यक्ष एवम् वडा शिक्षा समितिका संयोजक महेन्द्र दीप राईले जानकारी दिए ।

कक्षा १ देखि ५ सम्मका प्रतियोगीले ७१ प्रतिशत र कक्षा ६ देखि ८ सम्मका प्रतियोगीले ६६ प्रतिशत प्रश्नको सही जवाफ दिएका थिए । शैक्षिक सत्रको सुरुवातमा नै विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको सिकाई मापनको लागि वडाको आर्थिक वर्ष २०८१ ८२ को बालबालिका लक्षित विनियोजित रकमबाट प्रतियोगिताको आयोजना गरिएको हो ।
यही प्रकृतिको कार्यक्रम आजको तथ्याङ्क सुरक्षित राखेर फेरि शैक्षिक सत्रको अन्त्यमा पुनः मूल्याङ्कनको लागि सञ्चालन गर्ने अध्यक्ष राईले जानकारी दिए ।
कार्यक्रमको विश्वसनीयता र स्तरियताको लागि प्रश्न पत्र निर्माण र निर्णायक प्रमुखको भूमिकामा कालिका देवी मावि पन्चनको प्रधानाध्यापक प्रकाश थुलुङ राई जिम्मेवारी प्रदान गरिएको थियो ।

























