२७ जेष्ठ २०८३, बुधबार | Thu Jun 11 2026

तारकेश्वर नगरपालिकाले ल्यायो २ अर्ब ८० करोडको बजेट



काठमाडौँ । तारकेश्वर नगरपालिकाको १७औँ नगरसभा मंगलवार भव्य रूपमा सम्पन्न भएको छ। नगर प्रमुख कृष्णहरी महर्जनको सभापतित्वमा सम्पन्न सभामा आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र प्राथमिकता सार्वजनिक गरिएको हो।

सभामा प्रमुख महर्जनले “पहिचान, अपनत्व र अधिकार : दिगो विकासको आधार” भन्ने मूल नारालाई आत्मसात गर्दै नगरपालिका सञ्चालनको तेस्रो वर्षमा उल्लेखनीय प्रगति हासिल भएको बताए। उनका अनुसार नगरपालिकाले लिएका नीतिगत तथा सुधारात्मक कदमका सकारात्मक परिणाम देखिन थालेका छन्। “आर्थिक र सामाजिक रुपान्तरणमा तीव्रता आएको छ भने विकास निर्माणमा पनि गति लिएको छ,” उनले उल्लेख गरे।

नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले आर्थिक वर्ष २०८२/८३ का लागि संघ, प्रदेश तथा पालिकाको आन्तरिक स्रोत समेत गरी कुल २ अर्ब ८० करोड ८३ लाख ७० हजार रुपैयाँ बराबरको संचित कोषको अनुमान गरिएको जानकारी दिइन्। प्रस्तुत नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, खानेपानी, शिक्षा र पूर्वाधार विकासमा विशेष जोड दिइएको छ।

सभामा प्रमुख प्रशासकीय अधिकृत ईश्वर प्रसाद आचार्य साथै, नगर कार्यपालिकाका सदस्य, वडाका अध्यक्ष, वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति थियो।

नगरसभा सदस्यहरूले ऐतिहासिक सम्पदा संरक्षण, गुणस्तरीय शिक्षा, प्रभावकारी स्वास्थ्य सेवा, लक्षित वर्गका कार्यक्रम तथा पर्यटकीय क्षेत्रको समुचित विकासमा अझ बढी ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : ११ असार २०८२, बुधबार  १२ : ५२ बजे