काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले अल नासरमा दुई बर्षको नयाँ सम्झौता गरेका छन् । योसँगै ४० बर्षिय रोनाल्डो अल नासरमा २०२७ को जुन ३० सम्म रहने भएका छन् ।
रोनाल्डो अल नासरमा गरेको नयाँ सम्झौता बारे विभिन्न मिडिया रिपोर्ट सार्बजनिक भएका छन् । अल नासरले रोनाल्डोलाई दिएको बम्पर अफरले अहिले विश्वभरका फुटबल प्रेमी अचम्ममा परेका छन् । अल नासरले रोनाल्डोलाई अर्बौं रकम मात्र दिएको छैन क्लबको शेयर समेत दिएको छ ।
द सनको रिपोर्टका अनुसार रोनाल्डोसँगको नयाँ सम्झौतामा अल नासरले उनलाई बार्षिक १७८ मिलियन पाउण्ड अर्थात् ३३ अर्ब ४३ करोड एक लाख ८० हजार नेपाली रुपैयाँ परिश्रमक दिने छ । जुन प्रति साता ३.४ मिलियन पाउण्ड अर्थात ६३ करोड ८५ लाख ५४ हजार नेपाली रुपैयाँ रहेको छ ।
त्यस्तै अल नासरले रोनाल्डोलाई सम्झौता साइन गर्दा २४.५ मिलियन पाउण्ड अर्थात ४ अर्ब ६० करोड १३ लाख ५ हजार नेपाली रुपियाँ दिएको छ । यदि रोनाल्डो दोस्रो बर्ष अल नासरमा रहेमा यो बढेर ३८ मिलियन पाउण्ड हुने बताइएको छ ।
त्यस्तै अल नासर आफ्नो क्लबको १५ प्रतिशत स्वामित्व रोनाल्डोलाई दिएको बताइएको छ । जसको मुल्य ३३ मिलियन पाउण्ड अर्थात ६ अर्ब १९ करोड ७७ लाख ३० हजार नेपाली रुपैयाँ रहेको छ ।
त्यस्तै रोनाल्डोले गर्ने हरेक गोलमा अल नासरले ८० हजार पाउण्ड अर्थात् एक करोड ५० लाख २४ हजार ८०० नेपाली रुपैयाँ दिने छ । त्यस्तै हरेक गोल असिस्टको यसको आधा रकम अर्थात् ४० हजार पाउण्ड ( ७५ लाख १२ हजार ४०० नेपाली रुपैयाँ) दिने छ ।
अल नासरले साउदी प्रो लिगको उपाधि जितेमा रोनाल्डोले ८ मिलियन पाउण्ड अर्थात् एक अर्ब ५० करोड २४ लाख ८० हजार नेपाली रुपैयाँ बोनस पाउने छन् । त्यस्तै उनले साउदी प्रो लिगमा गोल्डेन बुट जितेमा ४ मिलियन पाउण्ड अर्थात ७५ करोड १२ लाख ४० हजार नेपाली रुपैयाँ बोनस पाउने छन् । त्यस्तै अल नासर एशियन च्याम्पियन्स लिगमा छनौट भएर उपाधि जितेमा रोनाल्डोले बोनस बापत ६.५ मिलियन पाउण्ड अर्थात् एक अर्ब २२ करोड ७ लाख ६५ हजार नेपाली रुपैयाँ पाउने छन् ।
त्यस्तै अल नासरले ४ मिलियन पाउण्ड अर्थात ७५ करोड १२ लाख ४० हजार बराबरको निजी जेट दिने भएको छ भने रोनाल्डोका लागि पुरा समय १६ जना सहयोगी, जसमा तीन ड्राइभर, चार हाउस किपर, दुई जना सेफ तीन जना गार्डेनर र चार जना सुरक्षा गार्ड पनि दिने भएको छ ।
यसका अलावा अल नासरले रोनाल्डोलाई विभिन्न साउदी कम्पनिहरुबाट ६० मिलियन पाउण्ड अर्थात ११ अर्ब २६ करोड ८६ लाख नेपाली रुपैयाँ बराबरको स्पोन्सर डिल दिलाउने सहमति गरेको छ ।
२०२३ को जनवरीदेखि अल नासरमा खेल्न थालेका रोनाल्डोले अल नासरका लागि १११ खेल खेल्दै ९९ गोल गरेका छन् ।
रोनाल्डोको साउदी प्रो लिगमा व्यक्तिगत प्रदर्शन राम्रो भएपनि अल नासरलाई ट्रफी भने जिताउन सकेका छैनन् । उनले लगातार दोस्रो सिजन साउदी लिगमा गोल्डेन बुट भने जितेका छन् । रोनाल्डोले साउदी लिगमा यस सिजनमा कुल २५ गोल गोल गर्दै गोल्डेन बुट जितेका थिए भने अघिल्लो सिजनमा रोनाल्डोले ३५ गोल गरेर गोल्डेन बुट जितेका थिए ।