२७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026

धान रोपाइँमा सञ्चारकर्मी र कलाकार सँगै



काठमाडौँ । संस्कृति प्रवर्धनको उद्देश्यसहित सञ्चारकर्मी र कलाकारले धान रोपाइँ गर्दै राष्ट्रिय दिवस मनाएका छन् । राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गोकर्णेश्वर ७ शिव चोकको फाँटमा आयोजना गरेको धान रोपाइँ कार्यक्रममा उनीहरूले सहभागिता जनाएका थिए ।

आइतबार देशभर धान दिवस र दहीच्युरा खाएर असारे १५ मनाइएको छ । यो अवसरमा गोकर्णेश्वर नगरपालिकासँग मिलेर कलाकारले धान दिवस मनाएका हुन् ।

नगरप्रमुख दीपक रिसालसहित कलाकार नारायण रायमाझी, बद्री पङ्गेनी, नवीन पौडेल, मञ्जु पौडेल, सरोज लामिछाने र लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगर, मोडल एलिजा गौतमले धान रोपे ।

कार्यक्रममा रायमाझीसहित घाँसे गीतका ज्ञाता शिवनारायण जोशी, उमा श्रेष्ठ, इन्द्रेणी लाइभ दोहोरीकी गायिका आयुशा गौतमले प्रस्तुति दिए । आयोजक संस्थाका अध्यक्ष चन्द्रमणि गौतमले नेपाल कृषिमा आत्मनिर्भर हुनुपर्छ भन्ने सन्देश संस्थाले लिएको बताए ।

कार्यक्रमकै अवसरमा वरिष्ठ लोक गायक तथा चलचित्र निर्देशक रायमाझी र जोशीलाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ८ : ४४ बजे