६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

गौरीटापमा जीपलाइन गुणस्तरहीन निर्माण, स्थानीयको खबरदारीपछि कमजोरी सच्याइयो


२५ मंसिर २०८२, बुधबार  

674
Shares

सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाले गौरीटापमा निर्माण गरिरहेको जीपलाईनको बेस बनाउने क्रममा चरम लापरबाही देखिएको भन्दै सामाजिक सञ्जालमा फोटो भाइरल भइरहेको छ । एक जिल्लावासीले कमजोर पिल्लर बनाइएको भन्दै सामाजिक सञ्जालमा राखेपछि फोटो भाइरल बनेको हो ।

केही दिन अघि स्थानीय सरकारले आफ्नो गौरवको आयोजना अन्तरगत विकासको रेखा कोरेको भन्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसी सहितका व्यक्तिले शिलान्यास गरिएको जिपलाईनका पिल्लरमा चार वटा मात्रै रड राखेको फोटो बाहिरिएपछि चर्को आलोचना भएको हो । एक फेसबुक युजरले फेसबुकमा लेखेका छन्, नेचासल्यान गाउँपालिकाले गौरीटाप क्षेत्र बनाउँदै गरेको जिप लाइनमा चार वटा मात्र रड राखेर पिल्लर ढलान, यो कामको क्वालिटी कसले चेक जाँच गर्ने हो ? भन्दै प्रश्न गरेका छन् । उनले सेयर गरेको तस्बिरमा पिल्लरका लागि चार वटा रड ठड्याइएको देखिएको छ ।

उक्त पोस्टमा नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले केही भनाई सहित रड थपेको फोटो पोस्ट गरेकी छिन्, जहाँ रडको सङ्ख्या थप गरिएको देखिन्छ । उनले लेखेकी छिन्, अहिले यो तरिकाले काम हुँदै छ, निगरानी र सहरीकरणका लागि सबैमा हार्दिक अनुरोध छ । अर्को पोस्टमा उनी लेख्छिन्, सुरुवातको काम अन्तिम हुँदैन, क्रमशः हुन्छ । त्यसमा फेसबुक युजरहरूले खबरदारी गरेको देखिन्छ ।

स्रोतका अनुसार हात्तिपाइले ढलानपछि ढाडो रडहरु थपिएको दृष्यले देखाउछ । सामाजिक सञ्जालमा तस्बिर भाइरल भएपछि सानदार न्युजले ठेकेदार कम्पनी कालिका निर्माण सेवालाई सम्पर्क गरेको थियो। कम्पनीका प्रतिनिधिले कमजोरी भएको स्वीकार गर्दै सच्याइएको बताएको छ । अहिले मापदण्ड अनुसारकै रड प्रयोग गरी पिल्लर बनाइएको दाबी गरेको छ । विश्वास नलागे जुनसुकै बेला पनि भत्काएर नयाँ बनाउन तयार रहेको निर्माण कम्पनीको दाबी छ ।

५ सय मिटर लम्बाई रहेको यो जीपलाईनसँगै अन्य संरचना निर्माणमा गाउँपालिकाले करिब ८० लाख बजेट विनियोजन गरेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बुधबार  ७ : ०६ बजे