सोलुखुम्बु। महाकुलुङ गाउँपालिकाको रोजगार शाखाको आयोजनामा शनिबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको ‘श्रमको सम्मान, राष्ट्रको अभियान’ कार्यक्रमअन्तर्गत अभिमुखीकरण तथा सडक सम्भार कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, सबै वडाका अध्यक्ष, कार्यपालिका सदस्य, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी, वडा सचिव, प्राविधिक, पालिका इन्जिनियर, विषयगत कर्मचारी, स्थानीय सरोकारवाला, सञ्चारकर्मीलगायत करिब ४५ जनाको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत खरिधन राईले जानकारी दिनुभयो।
कार्यक्रममा श्रमको सम्मान, श्रममा आधारित विकास तथा सार्वजनिक पूर्वाधारको संरक्षणसम्बन्धी विषयमा अभिमुखीकरण गरिएको थियो।
यसै क्रममा महाकुलुङ गाउँपालिका–१ स्थित हेलिप्याडमुनिको करिब २५ मिटर सडकखण्डमा ढुंगा खरिद गरी सोलिङ गर्ने सडक सम्भार कार्यसमेत सम्पन्न गरिएको रोजगार संयोजक सन्देश कुलुङले बताउनुभयो।
गाउँपालिकाले श्रमको सम्मान र स्थानीय पूर्वाधारको दिगो संरक्षणलाई जोड दिँदै यस्ता कार्यक्रमले स्थानीय सहभागिता अभिवृद्धि गर्नुका साथै सार्वजनिक सम्पत्तिको संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।





























