काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ को तालिनचोकमा निर्माण सम्पन्न शिखर शैलीको कृष्ण मन्दिरको शुक्रबार उद्घाटन गरिएको छ।
नगरपालिकाको ४० लाख रुपैयाँको बजेटमा निर्माण गरिएको उक्त मन्दिरको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल र उपमेयर सान्नानी लामाले संयुक्त रूपमा गर्नुभएको हो।
उद्घाटन कार्यक्रममा वडा नं. ४ का अध्यक्ष जयराम महतसहित जनप्रतिनिधि, स्थानीयवासी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।


उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर रिसालले निर्वाचनका बेला गरेका प्रतिबद्धताहरू एकपछि अर्को गर्दै कार्यान्वयन गरिरहेको दाबी गर्नुभयो। धार्मिक, सांस्कृतिक तथा पूर्वाधार विकासका योजनालाई प्राथमिकतामा राखेर नगरवासीसँग गरेका वाचाहरू पूरा गर्ने अभियान निरन्तर जारी रहने उहाँको भनाइ थियो।
स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त मन्दिरले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय समुदायमा समेत सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।


























