२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

डिभिजन वन कार्यालय सोलुखुम्बुले तोक्यो विभिन्न जडीबुटी पकेट क्षेत्र



सोलुखुम्बु । डिभिजन वन कार्यालय सोलुखुम्बुले जिल्लाका विभिन्न स्थानलाई जडीबुटी पकेट क्षेत्र घोषणा गरेको छ।

आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा कार्यालयले आवधिक योजना र रणनीतिक योजना कार्यान्वयनका लागि प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारी गर्दै विभिन्न जडीबुटीहरूको पकेट क्षेत्र निर्धारण गरेको हो।

डिभिजन वन कार्यालयका सूचना अधिकारी मनाराज राईका अनुसार लेकाली टिमुरका लागि सल्लेरी, टाक्सिन्दु, बेनी, टाप्टिङ, गोराखानी, तामाखानी र केरुङलाई पकेट क्षेत्र तोकिएको छ । त्यस्तै, बोके टिमुरका लागि पंचन, देउसा, मुक्ली, नेचा बेतघारी र सल्यान पकेट क्षेत्र निर्धारण गरिएको छ ।

अमला र जैतुन खेतीको लागि पंचन, देउसा, मुक्ली, नेचा बेतघारी, सल्यान र सोताङको तल्लो क्षेत्र पकेट क्षेत्र निर्धारण गरिएको डिभिजन वन कार्यालय सोलुखुम्बुले जनाएको छ ।

डालेचुकका लागि भकाञ्जे, बेनी र टाक्सिन्दु पकेट क्षेत्र तोकिएको छ । केशरका लागि सल्लेरी, टाक्सिन्दु, भकाञ्जे र टाप्टिङ, लौठसल्लाका लागि सल्लेरी, टाक्सिन्दु, बेनी, टाप्टिङ, गोराखानी, तामाखानी र केरुङलाई पकेट क्षेत्र तोकिएको छ ।

यस्तै, तेजपातका लागि नेचा बेतघारी, सल्यान र पंचन, दन्ते ओखरका लागि देउसा, मुक्ली, सल्लेरी, नेले, जुबु र लोखिमको माथिल्लो भेगलाई पकेट क्षेत्र तोकिएको छ ।

डिभिजन वन कार्यालयले विभिन्न जडीबुटी पकेट क्षेत्र निर्धारण गरेर सम्बन्धित जडिबुटिको संरक्षण, व्यवस्थापन र व्यावसायिक उत्पादनमा टेवा पुर्‍याउने अपेक्षा राखेको छ ।

प्रकाशित मिति : १ असार २०८२, आइतबार  ७ : ३६ बजे