तनहुँ । काठमाडौँ चन्द्रागिरि नगरपालिका– ३ का कुमार कार्की ५ वर्ष अघि तनहुँको घिरिङ गाउँपालिका–४ बाह्रबिसेमा पुग्छन् । सय रोपनी जति जग्गा खरिद गर्छन् । ०७७ मा घिरिङ भिनेयर्ड एग्रो रिसर्च सेन्टर दर्ता गरी व्यावसायिक अङ्गुर खेती सुरु गर्छन् ।
अहिले अङ्गुर खेती आन्तरिक पर्यटक तान्ने माध्यम बनेको छ भने दर्जनौँ स्थानीयले रोजगारी पाएका छन् । ७० रोपनी जग्गामा डिभीको, चार्डोनी, अर्काडिया, सोन्जा, सोफिया, अन्टेरिया लगायतका २६ प्रजातिका अङ्गुर लगाएका छन् ।
यति बेला उनको फार्म भरी कालो र हरियो अङ्गुर लटरम्म फलेको छ । बोटै भरी अङ्गुर फलेपछि हेर्न र खान जाने मानिसको भिड बढेको छ । अहिले दैनिक अवलोकनका चालीस पचास जना मानिसहरू त्यहाँ पुग्ने गरेका छन् । त्यहाँ पुग्नेहरू टिकटक र फोटोमा रमाउने गर्दछन् । उत्पादित अङ्गुरबाट वाइन बनाइने गरिएको छ । रेड, ह्वाइट र रोज वाइन उत्पादन गरी बजारमा बिक्री गर्न थालिएको सञ्चालक कार्कीले बताए ।
वार्षिक ५० हजार बोतल वाइन उत्पादन गर्दै आएको उनले बताए । बिस्तारै बढाउँदै लैजाने र अन्यत्र पनि निर्यात गर्ने योजना छ । जर्मनीबाट पाँच हजार बिरुवा ल्याएर व्यवसाय सुरु गरिएको उनको भनाइ छ । सात वर्ष अगाडि जापान गएर पर्यटन क्षेत्रमा काम गरेका कार्कीले फर्किएपछि स्वदेशमै बसेर केही गरौँ भन्ने उद्देश्यले अङ्गुर खेती गरेका हुन् ।
व्यवसायी कार्कीको यो कदमले अङ्गुर खेती हेर्न पुग्नेहरूलाई कहीँ न कहीँ गरे देशमा पनि हुँदो रहेछ भन्ने लाग्ने गर्दो हो । जसले गाउँमै उद्यमशीलताको सोचमा बढवा दिँदै आएको पाइन्छ ।

























